काठमाडौं । पञ्जाब किङ्स आईपीएल क्रिकेटमा सातौं जित निकाल्दै प्लेअफको नजिक पुगेको छ । आइतबारराती सम्पन्न दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पछिपार्दै पञ्जाब दोस्रो स्थानमा उक्लिएको हाे।
पञ्जाबले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो । लखनउका आयुष बदोनीले अर्धशतक बनाएपनि जित दिलाउन सकेनन् ।
पञ्जाबका अर्शदीप सिंहले लखनउका शीर्ष ३ ब्याटरहरू: मिचेल मार्श, एइडन मार्क्रम र निकोलस पूरनलाई पेभेलियन फर्काउँदै शानदार सुरुवात दिलाए। उनले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिएका थिए ।
अजमतुल्लाह ओमरजाइले २ विकेट लिँदा मार्को यानसेन र युजभेन्द्र चहलले समान १ विकेट लिए ।
लखनउका बदोनीले सर्वाधिक ७४ रन बनाए । त्यस्तै अब्दुल समदले ४५ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली पञ्जाबले २० ओभरमा ५ विकेटकाे क्षतिमा २३६ रनको विशाल योगफल खडा गरेको थियो । पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले ४८ बलमा ६ चौका र ७ छक्कासहित ९१ रन बनाए ।
कप्तान श्रेयस अय्यरले ४५, शशांक सिंहले अविजित ३३ तथा जोश इंग्लिसले ३० रन बनाए । लखनउका लागि आकाश सिंह र दिग्वेश राथीले २-२ विकेट लिँदा प्रिन्स यादवले १ विकेट लिए ।
जितपछि ११ खेलमा १५ अंक भएको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ भने ११ खेलमा १० अंक मात्र भएको लखनउ सातौं स्थानमा छ । हारसंगै लखनउको प्लेअफ सम्भावना कमजोर बन्दै गएको छ ।