काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएल क्रिकेटमा लगातार छैटौं जित निकाल्दै शिर्ष स्थानमा उक्लिएकाे छ । मुम्बईले साताैं जित हातपार्दै प्लेअफ सम्भावना बलियो बनाएको छ ।
बिहीबारराती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई एक सय रनकाे फराकिलो अन्तरले हराउँदै मुम्बई शीर्षस्थानमा उक्लिएकाे हाे । मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा ११७ रनमा अलआउट भएकाे थियो ।
राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाउँदा कप्तान रियान परागले १६ रन बनाए । मुम्बईका लागि ट्रेन्ट बोल्ट र कर्ण शर्माले समान ३ विकेट लिँए । जसप्रित बुमराहले २ तथा दीपक चहर र हार्दिक पान्ड्याले समान १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा २ विकेटकाे क्षतिमा २१७ रनको विशाल योगफल खडा गरेको थियो । मुम्बईका लागि ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टनले अर्धशतक बनाएका थिए ।
रोहितले ५३ तथा रिकेल्टनले ६१ रन बनाए । पहिलो विकेटका लागि यी दुई मिलेर ११६ रनको साझेदारी गरेका थिए । दुई ब्याटर आउट भएपछि कप्तान हार्दिक र सुर्यकुमार यादव मिलेर ९४ रनको साझेदारी गरेका थिए ।
हार्दिक र सुर्यकुमार दुवै समान ४८ रनमा अविजित रहे । राजस्थानका लागि महीश थिक्साना र रियान परागले १-१ विकेट लिए । जितसँगै शीर्षस्थानमा उक्लिएको मुम्बईको ११ खेलमा १४ अंक भएको छ ।
११ खेलमा ६ अंक मात्र भएको राजस्थान प्लेअफ होडबाट बाहिरिने दोस्रो टिम बनेकाे छ। अघिल्लो दिन चेन्नई प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको थियो । राजस्थानले अझै तीन खेल खेल्न बाँकी छ ।