काठमाडौं । पाँच पटककाे विजेता चेन्नई सुपर किङ्स आईपीएल क्रिकेट २०२५ को प्लेअफ होडबाट बाहिरिने पहिलाे टाेली बनेको छ । बुधबारराति सम्पन्न खेलमा पञ्जाब किङ्ससँग ४ विकेटको हार बेहोरेसँगै चेन्नई ४ खेलअगावै प्लेअफ होडबाट बाहिरिएको हो ।
चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । पञ्जाबको जितमा कप्तान श्रेयस अय्यरले सर्वाधिक ७२ रन बनाए ।
त्यस्तै प्रभसिमरन सिंहले ५४ रन तथा अर्का ओपनर प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन जाेडे ।
चेन्नईका लागि मथिसा पथिराना र खलील अहमदले २-२ विकेट लिँदा नूर अहमद र रविन्द्र जडेजाले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली चेन्नईले १९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।
४८-३ को अवस्थामा हुँदा साम करान र डेवाल्ड ब्रेभिस मिलेर चेन्नईको इनिङ उकासेका थिए । करानले सर्वाधिक ८८ रन बनाए भने ब्रेभिसले ३२ रन जाेडे । रविन्द्र जडेजाकाे नाममा १७ रन रह्यो ।
१८औं ओभरमा एक चौका र एक छक्का प्रहार गरेका एमएस धोनी चहलको बलमा क्याचआउट हुन पुगे । त्यसपछि एक बल डट राखेका चहलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । चहलले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए ।
अर्शदीप सिंह र मार्को यानसेनले समान २ तथा हरप्रीत ब्रार र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए ।
जितपछि १० खेलमा १३ अंक भएको पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
समान १० खेलमा ४ अंक मात्र भएको चेन्नई पुछारमा छ ।