काठमाडौं । आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि नेपालले १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।
टोलीको कप्तानी इन्दु वर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोले पाएकी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीहरूबाट अन्तिम टोली छानिएको जनाएको छ ।
मे ७ देखि २१ सम्म हुने एशिया छनोटमा नेपालसहित ९ देश सहभागी हुनेछन् । सो प्रतियोगिताबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।
ग्लोबल क्वालिफायरमा १० टोली सहभागी हुनेछन् र त्यसबाट उत्कृष्ट चार टोलीले आगामी वर्ष जुन–जुलाईमा इंग्ल्याण्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
