काठमाडौं। आईसीसी यू १९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । बुधबारतल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।
हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । निरज यादवले २३ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो । हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन जोडे ।
१० रनको अवस्थामा पहिलो विकेट गुमाएको हङकङका लागि माथुर र पन्जवानीले अर्धशतकीय साझेदारी बनाएका थिए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाउँदा सामान्य योगफलमै समेटिएको थियो ।
नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन दिएर ४ विकेट लिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन खर्चंदै ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।
नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।
नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर ३५९ रनको विशाल योगफल खडा गरेको छ । आज अफगानिस्तानले यूएईलाई हराएमा नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक हुनेछ ।