नापतौलमा ठगी गर्ने ४ हजार ७ सय व्यवसायी कारबाहीमा, ९२ लाख ९८ हजार राजस्व संकलन

नापतौलमा ठगी गर्ने ४ हजार ७ सय व्यवसायी कारबाहीमा, ९२ लाख ९८ हजार राजस्व संकलन

बुधवार, फाल्गुण २३ २०८०
बुधवार, फाल्गुण २३ २०८०
  • नापतौलमा ठगी गर्ने ४ हजार ७ सय व्यवसायी कारबाहीमा, ९२ लाख ९८ हजार राजस्व संकलन

    काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने ४ हजार ७ सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो ।

    कार्यालयका प्रमुख राकेशकुमार झाले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गरेर आम उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको बताए। “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ, त्यस्तालाई हामीले कारबाहीको दायरामा ल्याएका छौँ,” उनले भने ।

    कार्यालयले पछिल्लो समय व्यापारीको सहजताका लागि ‘डोर टू डोर’ अभियानसमेत सञ्चालन गरिरहेको छ । ‘डोर टू डोर’ अभियानअन्तर्गत कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान गर्ने, अनियमित गर्नेलाई कारबाही गर्ने, जाँच नवीकरण गर्नेलगायत काम गर्दै आएको कार्यालय प्रमुख झाले बताए ।

    कार्यालयले साउनदेखि पुस मसान्तसम्म १ हजार ३ सय ८२ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गरेको छ । यसैगरी, ४ हजार ३३ नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच, १ सय २ पेट्रोल पम्प जाँच र २ हजार ६ सय १८ ट्याक्सी मिटर जाँच गरेको जनाएको छ ।

    सीमित स्रोत र साधनबीच बजार अनुगमनलाई तीव्रता दिएको कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि ८० पटक एकल अनुगमन र ५२ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको छ ।

    कार्यालय प्रमुख झाले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताए । “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ”,  उनले भने ।

    कार्यालयले चालु आर्थिक बर्षको छ महिनामा ९२ लाख ९८ हजार ५ सय ९२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले हाल काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवा गरी नौ जिल्लामा नापतौलको अनुमति प्रदान, नवीकरण, अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij