काठमाडौँ । म्यानमारको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौँ’, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । गैरआवासीय नेपालीहरूको राहतका लागि संघको तर्फबाट एनसीसी म्यानमार मार्फत १० लाख रुपैयाँ सहयोगको घोषणा पनि उनले गरेका छन् ।
केसीले लेखेका छन्, ‘हामी विश्वभरका सबै एनसीसीहरूलाई विनियोजन गरिएको कोषमा थप्न रकम सङ्कलन कार्यक्रम सुरु गर्न अनुरोध गर्दछौं’, उनले भनेका छन्, ‘हामी साँच्चै विश्वभरका नेपालीद्वारा नेपालीको लागि योगदान गर्न चाहन्छौँ।’
म्यानमारको सैन्य परिषद्ले शुक्रबारको ७ दशमलव ७ रेक्टरको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको जनाएको छ । सेनाले भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ ।