६ महिनामा सवारी दुर्घटनामा ३८ जनाको मृत्यु

६ महिनामा सवारी दुर्घटनामा ३८ जनाको मृत्यु

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • ६ महिनामा सवारी दुर्घटनामा ३८ जनाको मृत्यु

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो । अनियन्त्रित भई सडकमा बस पल्टिँदा एक जनाको मृत्यु भयो भने १३ जना घाइते भए । 

    पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो । 

    गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुई पाँग्रे सवारी दुर्घटनामा परेका छन् । मोटरसाइकल र स्कूटर बढी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले राससलाई जानकारी दिए । 

    पृथ्वीराज मार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् । विगतमा सडकको दुरावस्थाले सवारी दुर्घटना हुने गरे पनि हाल सडक विस्तारले गर्दा झनै दुर्घटना बढाएको प्रहरीको अनुमान छ ।

    दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विद्यालय, समुदायस्तरमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आर्थिक वर्ष २०७९-८० मा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८-७९ मा दुर्घटनामा परी ४९ जना, २०७७-७८ मा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७६-७७ मा ४४ र ०७५-७६ मा ६० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij