काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइनका माध्यमबाट हुने हिंसालाई न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्नेमा जोड दिएकी छन्।
राष्ट्रिय महिला आयोगले आज राजधानीमा आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ अन्तरक्रियामा शर्माले अनलाइनको खतराको विकसित प्रकृतिलाई न्यूनीकरण गर्न स्थानीयस्तरसम्म डिजिटल शिक्षालाई विस्तार गर्न जरुरी रहेको बताएकी हन्।
‘प्रविधि आफैँमा पूर्वाग्रही हुँदैन। हिंसाको अन्त्य गर्न प्रविधिको भूमिका महत्त्वपूर्ण छ। अनलाइनको सदुपयोग गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौं,’ उनले भने, ‘सरकारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा विद्यालयस्तरका पाठ्यक्रममा अनलाइनको सदुपयोगबारे सचेतना जगाउन आवश्यक छ।’
उनले डिजिटल शिक्षालाई ग्रामीणस्तरसम्म विस्तार गर्न जरुरी रहेको समेत उल्लेख गरिन्। शर्माले अनलाइनबाट हुने हिंसाको न्यूनीकरणसम्बन्धमा सरकारले कानुनी व्यवस्था गरि सम्बोधन गर्ने पनि बताइन्।
‘विश्वव्यापी सामाजिक सञ्जालको प्रयोग र नियमनलाई सरकारले बेवास्ता गर्न सक्दैन। यसबारे सरकार सजग छ,’ उनले भनिन्, ‘राष्ट्रिय साइबर सुरक्षा नीति, सामाजिक सञ्जाल ९प्रयोग तथा नियमन० ऐनमा गरिएका व्यवस्थाले अनलाइनबाट हुने हिंसा न्यूनीकरणमा सहयोग गर्नेछ।’
सो कार्यक्रममा महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले प्रविधिलाई जीवनोपयोगी बनाउन जरुरी रहेका बताएकी थिइन्।
‘अनलाइनबाट हुने महिला हिंसा निवारणमा आयोगले सञ्चालन गरेको यो कार्यक्रम आरम्भमात्र हो। आयोगका गतिविधिलाई गुणात्मक, परिणात्मक बनाउन सबै सरोकारवालासँग समन्वय, सहकार्य गर्न आवश्यक छ,’ उनले भनिन्।
यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले अनलाइनमा महिला सुरक्षाका अवस्था, समस्या तथा चुनौती र समाधान सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले चालु आर्थिक वर्षको माघसम्म अनलाइनमार्फत पीडित भएका महिलाबाट ५ हजार १ सय ३१ निवेदन आएको जानकारी दिइका थिए। उनले पछिल्लो समय आर्थिक ठगीका निवेदन बढी आएको उल्लेख गरेका थिए।