काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको हो ।
कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए । कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन।
बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ३ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । स्कट कुगेलेइनले २ विकेट लिए । सैफ अली जैबले १ विकेट लिए ।
अब सुदूरपश्चिमले ७.३ ओभरमा लक्ष्य पूरा गरे कर्णाली शीर्ष चारबाट आउट हुनेछ । अन्यथा कर्णाली शीर्ष चारमा पर्नेछ भने काठमान्डु गुर्खाज बाहिरिनेछ ।