काठमाडौं । विलियम बोसिस्टो र देव खनालको अर्धशतकमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको हो ।
बोसिस्टोले ४९ बल खेल्दै ५ चौका र ३ छ्क्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । यस्तै ओपनर देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । ९ रनमै २ विकेट गुमाएको कर्णालीका लागि बोसिस्टो र देवले तेस्रो विकेटमा १०२ रनको साझेदारी गरे ।
ओपनर शिखर धवन ५ रनमै आउट भए भने चाडविक वाल्टन र अर्जुन घर्ती समान एकरएक तथा जिसान मक्सुद २ रनमा आउट भए । गुल्सन झा र नन्दन यादवले खाता खोल्न सकेनन् ।
विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्र खर्चिए । प्रतिशले अन्तिम ओभरमा मेडन राख्दै ३ विकेट लिए भने १ रनआउट भएको थियो ।
यस्तै बसिर अहमदले ४ ओभरमा २२ तथा क्रिस सोलले ४ ओभरमा २५ रन खर्चेर समान २ विकेट लिए । आकिश इल्यासले १ विकेट लिए ।