काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले पहिलो जित हात पारेको छ । जितका लागि १३१ रनको लक्ष्य पाएको कर्णालीले १ बल बाँकी रहँदै पुरा गरेको हो ।
टस जितेर कर्णालीले पहिले फिल्डिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । खेल जित्नका लागि १३१ रनको लक्ष्य पाएको कर्णालीले ४ विकेटको क्षतिमा १९.५ ओभरमा पुरा गर्र्यो ।
कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रनको योगदान दिए । अन्य खेलाडीहरु वाल्टनले ३०, देव खनालले २५, मक्सुदले १२ रन र अर्जुन घर्तीले ११ रनको योगदान दिए ।
चितवनका लागि कुशल मल्ल, रवि बोपारा र जेन निकोल लफ्टिले १–१ विकेट लिएका थिए ।
कर्णालीले यसअघिका दुई खेल हारेको थियो । यो जित नै कर्णालीको पहिलो जित हो । यसअघिका दुबै खेल जितेको चितवनका लागि भने आजको हार नै पहिलो हो ।