आज स्वरसम्राट नारायणगोपालको ३४औँ स्मृति दिवस

आज स्वरसम्राट नारायणगोपालको ३४औँ स्मृति दिवस

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • आज स्वरसम्राट नारायणगोपालको ३४औँ स्मृति दिवस

    काठमाडौं । आज मंसिर १९ । स्वरसम्राट नारायणगोपालको स्मृति दिवस । बुधबार उनको ३४औँ स्मृति दिवस मनाउन लागिएको हो । 

    नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन् ।  

    काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए । ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन् ।

    साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए । 

    दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो । थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए। योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए ।

    ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘श्रद्धाको फूल चढाइदिनु’, ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवनदेखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘दुईटा फूल द्यौरालीमा’, आजै र राति के देखेँ सपना’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’,​ ‘पोखिएर घामको झुल्का’ र ‘तिमीले भनेका सारा देव छोएर’ लगायत उनका गीत लोकप्रिय छन् ।

    आधुनिक गीतका साथै उनी पार्श्वगायनमा समेत रुचाइएका गायक हुन् । परिवर्तन, सिन्दुर, बदलिँदो आकाश, लाहुरे, चोट चिनो, दक्षिणालगायत चलचित्रमा उनको आवाज सुन्न सकिन्छ । उनले तारादेवी, अरुणा लामा, दिलमाया खाती, मीरा राणा, ज्ञानु राणा, कमला श्रेष्ठ र भारतीय गायिका आशा भोसलेसँग पनि केही युगल गीत गाए ।

    कुशल स‌गीतकारसमेत रहेका नारायणगोपालले भक्तराज आचार्य, फत्तेमान र अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका थिए । उनको संगीतमा लोचन भट्टराईले र रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित छ । यो गीत शुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि भट्टराई र ढकालले स्वर दिए । 

    उनले गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाए । उनको निधन २०४७ मंसिर १९ गते  भयो।  उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरियो ।

    दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपाल निःसन्तान रहे । पेमलाको निधन २०६१ असार १६ गते भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij