पोखरा । युवतीलाई होटलमा लगेर यौन शोषण गराउने तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत स्थायी घर भई हाल काठमाडौँको शंखमुलमा बस्दै आएका २३ वर्षीय निर्मल मल्ल र पोखरा महानगरपालिका– १७ बिरौटामा बस्दै आएका २६ वर्षीय राजेश ठकुरी रहेका छन्।
प्रहरीका अनुसार, पोखरा महानगरपालिका–८ जाल्पारोड स्थित रहेको काभ्रेली खाजा घरका सञ्चालकले बालिका तथा महिलाहरूलाई होटलमा राम्रो काम लगाइदिन्छु भनेर ल्याउने र सुरुमा होटेल सरसफाइको काम लगाइदिने गरेको पाइएको छ। केही समयपछि राम्रो कमाई हुन्छ भनी विभिन्न लोभ लालच र प्रलोभनमा पारी परपुरुषसँग भेट गराई पोखराका विभिन्न होटलहरुमा लगी यौन शोषण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
सोही आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोली खाजा घरमा पुग्दा महिलाहरूलाई बाहिर लैजान लागेको अवस्थामा एक बालिका र दुई महिलालाई उद्धार गरिएको कास्की प्रहरीले बताएको छ। पक्राउ परेकाहरूमाथि मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।