काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म क्षेत्रमा १६ वर्ष बिताइसकेकी छन्। सन् २००७ मा शाहरूख खानको फिल्म ओम शान्ति ओमबाट फिल्म क्षेत्रमा डेब्यू गरेकी थिइन । डेब्यू फिल्मलेनै बक्स अफिसमा तहल्का मच्चाएपछि उनी पहिलो फिल्मबाट ठूला निर्माण कम्पनीको नजरमा पर्न थालिन्।
लव आज कल, ये जवानी है दिवानी, तमाशा, रामलीला, पद्मावत, बाजीराव मस्तानी, छपाक, पठान, जवानु लगायत फिल्मबाट निकै चर्चा कमाइन्। फिल्म क्षेत्रबाट उनले चर्चा मात्र कमाएकी छैनन्, सम्पत्ति पनि मनग्ये कमाएकी छन्। फिल्मबाट मात्र नभएर विज्ञापनबाट पनि उनले राम्रै आम्दानी गर्छिन्।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार दीपिकाको सम्पत्ति ५०० करोड भारू छ। उनले आफ्नो डेब्यू फिल्म ओम शान्ति ओमका लागि पारिश्रमिक नलिएकी उनले अहिले बलिउड अभिनेताको जति नै पारिश्रमिक लिदै आएकी छिन्।
उनले पद्मावतमा अभिनेता रणवीर सिंह र शाहिद कपूरको भन्दाबढी पारिश्रमिक लिएकी थिइन्। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका लागि दीपिकाले ११ करोड भारू पारिश्रमिक लिएकी थिइन् भने रणवीरले ८ करोड र शाहिदले ६ करोड भारू लिएका थिए। दीपिकाले बलिउडका थुप्रै हिट फिल्ममा काम गरेकी छन्।