काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सुपर स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेकी छिन् ।
काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको सेमिफाइनल खेलमा आइतबार भारतविरुद्ध गोल गर्दै सावित्राले यसअघि नेपालकी खेलाडी अनु लामाको नाममा रहेको कीर्तिमान बराबरी गरेकी हुन् । सावित्राले साफ फुटबलमा मात्र ब्यक्तिगत २१ गोल गरिसकेकी छिन् ।
यसअघि अनुले पनि २१ गोलको कीर्तिमान राखेकी थिइन् । अनु र सावित्रापछि दोस्रो स्थानमा नेपालकै अर्की खेलाडी जमुना गुरुङ छिन् ।
सावित्रा नेपालका लागि सर्वाधिक ५४ गोल गर्ने महिला खेलाडी पनि हुन् ।