काठमाडौं । विश्वकप क्रिकेट लिग-२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । आइतबार अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदै पूरा गरेका हो ।
'प्लेयर अफ द म्याच' बनेका शायन जहाँगीरले अमेरिकाका लागि सर्वाधिक १०४ रन बनाए । ९७ बल सामना गरेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मोनाकं पटेलले ६२ रन बनाए । त्यस्तै हर्मीत सिंहले ५७ रन बनाउँदा स्याड्ल भान श्यालवाएकले अविजित २९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले २३ रन खर्चिएका थिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिँदा १ विकेट ललित राजवंशीको नाममा रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाए । ७५ बल सामना गरेका उनले ८ चौका र ३ छक्का हाने । त्यस्तै दुई ओपनरले पनि अर्धशतकीय पारी खेले । अनिल साहले ५६ रन बनाउँदा आसिफ शेखले ५२ रन बनाए । त्यस्तै आरिफ शेखले ३७ रन बनाए । अमेरिकाका लागि नोस्तुस केन्जिगेले ४ विकेट लिए । त्यस्तै सौरभ नेत्रवलकरले २ विकेट लिँदा जसदीप सिंह, हर्मीत सिंह र श्यालवाएकले १-१ विकेट लिए ।