काठमाडौं । नेपालले श्रीलंकालाई ६–० गोलले हराएको छ। महिला साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६ गोलले हराएको हो। यससँगै नेपाल समूह विजेता बनेको छ ।
अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो ।
पहिलो हाफ हुनुअघि ४ गोल गरेको नेपालले त्यसपछि २ गोल थपेको थियो। नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन् भने साबित्रा भण्डारी र सविता राना मगरले एक-एक गोल गरे। रेखाले १२ र ३६औं मिनेटमा गोल गरिन् भने सविताले ८ र सबित्राले १३औं मिनेटमा गोल गरे।
त्यस्तै ४७औं मिनेटमा अमिसा कार्कीले १ र अतिरिक्त समयमा रश्मी कुमारी घिसिङले १ गोल थपेका थिए। जितसँगै नेपाल समूह विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
यसअघि नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गर्दा भुटानसँग गोलरहित खेलेको थियो।
अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ। त्यसअघि भुटान र बंगलादेश पहिलो सेमिफाइनलमा भिड्ने छन्।