काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । मानबहादुरले आइतबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।
सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले नेपालका लागि सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग तथा एसियन गेम्स खेलेका थिए ।
उनले राष्ट्रिय बिच भलिबल टोलीको पनि कप्तानी गरेका थिए । विभागीय टोली त्रिभुवन आर्मी क्लबको समेत कप्तानी गर्दै आएका मनबहादुरले नयाँ खेलाडीलाई मौका दिन आफुले सन्न्यास लिएको उल्लेख गरेका छन् ।