काठमाडौं । अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । नेपाल टूर अफ यूएसए सीरिज अन्तर्गतको आज भएको खेलमा अमेरिकाले पुरै २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको हो ।
टस हारेर पहिले फिल्डिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, रिजन ढकाल र ललित राजवंशीले पनि अमेरिकाको १–१ विकेट लिए ।
नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।
टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।