महिला टी–२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डलाई

महिला टी–२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डलाई

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • महिला टी–२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डलाई

    काठमाडौं । न्युजिल्याण्डले आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबारराती सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पछिपार्दै न्युजिल्याण्ड पहिलो पटक विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

    दक्षिण अफ्रिकाका लागि कप्तान लाउरा वलभार्टले २७ बलमा ४ चौका मदतमा सर्वाधिक ३३ रन बनाइन् । ताज्मिन ब्रिट्सले १७, कोल ट्राएओनले १४ र अनेरिई डेर्कसेनले १० रन बनाइन । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    दक्षिण अफ्रिकालाई कम स्कोरमा रोक्न न्युजिल्याण्डका रोसमेरी मेइर र अमेलिया केरले ३–३ विकेट लिए । यस्तै एइडेन कार्सन, फ्रान जोनास र ब्रकी हालिडेल समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । 

    न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन् । उनले ३८ बलमा  ३ चौका प्रहार गरिन् । यस्तै ब्रुकी हालिडेले २८ बलमा ३ चौका प्रहार गर्दै ३८ रन जोडिन् । ओपनर सुजी बेट्सले ३१ बलमा ३२ रन बनाइन् । म्याडी ग्रीन १२ रनमा अविजित रहिन् ।

    दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको एलाबाले २ तथा आयोबोङ्गा खाका, कोल ट्राएओन र नादिन डे क्रेलर्कले समान १ विकेट लिए । न्युजिल्याण्डले तेस्रो पटक फाइनल खेल्दा पहिलो पटक महिला टी–२० विश्वकपको उपाधि जितेको हो । सन् २००९ मा सुरु भएको महिला टी(२० विश्वकपको सुरुवाती दुई संस्करणको फाइनल खेलेको न्युजिल्याण्ड उपविजेता बनेको थियो ।

    सन् २००९ को पहिलो संस्करणमा इंग्ल्याण्डसँग पराजित भएको न्युजिल्याण्ड २०१० को दोस्रो संस्करणमा अष्ट्रेलियासँग पराजित भएको थियो । न्युजिल्याण्डले सेमिफाइनलमा पूर्व विजेता वेष्ट इन्डिज तथा दक्षिण अफ्रिकाले साविक विजेता एवं ६ पटकको च्याम्पियन अष्ट्रेलियालाई हराएर लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो ।

     सन् २०२४ मा दक्षिण अफ्रिकाको पुरुष र महिला दुवै टोली टी२० विश्वकपको फाइनल पुगेपनि उपाधि जित्न सकेन । गतवर्ष घरेलु मैदानमै भएको महिला टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij