काठमाडौं । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठलाई नियुक्त गरिएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।
आयोग अध्यक्षमा नियुक्त श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशकमा कार्यरत रहेका थिए ।
मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ मा सिफारिस समितिमा बागमती प्रदेश सभाका सभामुख र प्रदेश सभाका विपक्षी दलका नेता सदस्य रहने व्यवस्था रहेको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश लोक सेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (२) बमोजिम नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका १ का श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको जनाइएको छ ।
आयोगका नवनियुक्त अध्यक्षको शपथग्रहण कार्यक्रम सोमबार हुने जनाइएको छ । श्रेष्ठलाई आयोग अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेसँगै आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले पदबाट राजीनामा दिएका थिए ।
प्रदेश लोक सेवा आयोगको अध्यक्षमा आफूभन्दा कनिष्ठलाई नियुक्ति गरेकोमा असन्तुष्टि जनाउँदै ढकालले आयोगको सदस्यबाट शुक्रबार राजीनामा दिएका हुन् ।
बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आयोग सदस्य ढकालले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष शुक्रबार नै राजीनामा बुझाएको जनाएको छ ।