नवलपुरमा एक वर्षमा थपियो ३७ किमी कालोपत्र सडक,पुल निर्माणले सहजता

नवलपुरमा एक वर्षमा थपियो ३७ किमी कालोपत्र सडक,पुल निर्माणले सहजता

शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • नवलपुरमा एक वर्षमा थपियो ३७ किमी कालोपत्र सडक,पुल निर्माणले सहजता

    त्रिवेणी (नवलपरासी) । पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा  पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । कार्यालयले गत आवमा ३९ किलोमिटर नाला निर्माण गरेको छ । यस्तै ठूला तीन मोटरेबल पुल निर्माण सम्पन्न गरेको उनले बताए ।

    पूर्वाधार कार्यालयले १२  कलभर्ट÷कजवे निर्माण गरेको छ । यस्तै तीन झोलुङ्गे पुल निर्माण गरेको कार्यालय प्रमुख अर्यालले बताए। गत वर्ष पूर्वाधार विकास कार्यालयले सडक निर्माण, मोटरेबल पुल, झोलुङ्गे पुल, कलभर्ट निर्माणसहितका बहुवर्षीय एक सय १५ योजना सम्पन्न गरेको उनले बताए।

    पुल निर्माणले सहजता

    बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेको गोडारखोलामा मोटरेबल पुल निर्माण भएसँगै यहाँका स्थानीयलाई आवतजावतमा सहजता भएको छ । पूर्वाधार विकास कार्यालयले मध्यविन्दु नगरपालिका–१५ टिकुलीटारस्थित गोडारखोलामा पुल निर्माण गरेको हो । विसं २०८० असोजमा देवचुली निर्माण सेवासँग सम्झौता गरेको ४५ मिटर लम्बाइको पुल २०८२ साल असोज १८ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । रु पाँच करोड ८७ लाख ६४ हजार लागत रहेको पुल निर्माण कम्पनीले यही भदौ ३ गते काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले बताए ।

    निर्माण कम्पनीले सम्झौता अवधिभन्दा १३ महिना पहिला काम सम्पन्न गरेको उनले बताए। निर्माण सुस्तगतिमा हुने गरेको भन्ने गुनासो रहने गरेकामा ठूलो पुलअन्तर्गत पर्ने उक्त योजना तीव्रगतिमा सम्पन्न हुनु सकारात्मक विषय भएको उनले बताए । उनले भने, “कतिपय योजना समयमा नसकिँदा समस्या हुने गरेको देखिन्छ, तर गरे सम्भव हुँदोरहेछ भन्ने सकारात्मक उदाहरण गोडारखोलाको पुल बनेको छ ।” यस्ता कार्यले अन्य सुस्त योजनालाई समेत समयमा सम्पन्न गर्न ऊर्जा थप्ने उनले बताए।
     
    पुल निर्माणको अन्तिम म्यादभन्दा अघि नै सम्पन्न हुँदा यस क्षेत्रका बासिन्दालाई सुविधा पुगेको मध्यविन्दु नगरपालिका–१५ का वडाध्यक्ष यमबहादुर केसीले बताए । पुलले वडा नं १५ सहित ६, ८, १०, ११, १२ का स्थानीयलाई आवतजावत गर्न सहज भएको उनले बताए। पुल नहुँदा बर्खाको समयमा जोखिम मोलेर हिँड्नुपर्ने र अन्य समयमा खोला वारपार गर्न समस्या हुने गरेकामा उक्त बाध्यता हटेको अध्यक्ष केसीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij