विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा....’ सार्वजनिक

विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा....’ सार्वजनिक

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा....’ सार्वजनिक

    गण्डकी । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखे, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अदभूत !”

    तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौँ ‘भ्यूज’ पुग्ने गरी दर्शक÷स्रोताले साथ दिनुपर्ने उनको भनाइ थियो ।  गायक एवं सङ्गीतकार बसन्त थापा माझीको तीज गीत आउँदा उत्साहित भए । “बल्ल तीज आए झैँ भो, प्यासीले पानी पाए झैँ भो”, सामाजिक सञ्जालमा लेख्दै उनले भने। उनको पोष्टमा टिप्पणी गर्दै रमेश क्षेत्रीले लेखका छन्, “यसलाई भनिन्छ तीज गीत, त्यसैले आजबाट मेरा लागि तीज सुरु भयो ।” 

    सुनिता क्षेत्रीको टिप्पणी पनि उस्तै छ, “साँच्चै हो नि विष्णु माझीको गीत नआएसम्म तीज आएजस्तो हुँदैन ।” ‘सपना म्यूजिक इण्ड्रष्टिज’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत लोकसङ्गीतप्रेमीको रोजाइमा परेको छ । सार्वजनिक भएको दुई दिन नबित्दै उक्त गीतको म्यूजिक भिडियो युट्युबमा ३१ लाखभन्दा बढी पटक हेरिएको छ । गीतको सर्वत्र चर्चा र प्रशंसा भइरहेको छ ।

    तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीत धेरैले रुचाएको गायक तथा सङ्गीतकार आशिष अविरलले बताउनुभयो । “महिलाको संवेदना र मनोविज्ञान गीतमा झल्किएको छ, समग्रमा गीतको मौलिक पक्ष सशक्त छ, गायकीका हिसाबले विष्णु माझी अब्बल हुनुहुन्छ”, उनले भने, “तीज गीतको मुल प्रवृत्तिलाई यो गीतले पक्डेको छ ।” 

    विगत केही वर्षदेखि कतिपय तीज गीत विवादित हुने गरेका छन् । तीज गीतको विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्षपनि दर्जनबढी तीज गीत विवादमा मुछिएका छन् । 

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा माझीको गीतले त्राण दिएको उल्लेख गरे। उक्त गीतले पाएको चर्चा र प्रशंसालाई इङ्गित गर्दै उनले समाज सँधै स्तरीय सिर्जनाको खोजीमा रहने हुँदा गायिका माझीको गीत त्यही कोटीमा परेको बताए। कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिनेले तीज गीतलाई विकृत पारिरहेका बेला विष्णु माझीको गीतले उनीहरु निरुत्साहित बनेको उनको बुझाइ छ । 
    वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राखे। अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माण गर्न तीज गीत सहयोगी बन्नुपर्ने उनको भनाइ छ । 

    पौराणिककालदेखि तीज पर्व र गीतको बयान हुँदै आएको प्रसङ्ग जोड्दै उनले तीज गीतमा विशेष गरी नारी मुक्तिको आवाज मुखरित हुने गरेको स्मरण गरे । बढ्दो व्यावसायिक बजार र अस्वस्थ प्रतिस्पर्धाले नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक÷कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ । 

    माझीद्वारा स्वरबद्ध उक्त तीज गीतको शब्द र सङ्गीत दुवै सुन्दरमणि अधिकारीको हो । तीजमा माइत जान नपाएकी चेलीको मनोभावना गीतमा पाउन सकिन्छ । तीन वर्षअघि माझीको तीज गीत ‘चरी जेलैमा....’ चर्चित बनेको थियो । सार्वजनिकरुपमा देखा नपर्ने गायिका माझीले गुमनाम अवस्थामै नेपाली लोकसङ्गीतलाई अमर गीत दिइरहेका विश्लेष गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij