काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् ।
युनुसले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि छन् ।
मन्त्रिपरिषद्मा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि छन् । सरकारी रोजगारीमा रहेको कोटाविरुद्ध विद्यार्थीहरुले थालेको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिएर देश छोडकी थिइन् । लगत्तै सेना प्रमुखले पत्रकार सम्मेलन गरेर अन्तरिम सरकार बनाउने बताएका थिए ।
विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अगाडि सारेका थिए । विद्यार्थी नेताहरुको प्रस्ताव अनुसार अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएका युनुस बिहीबार मात्र ढाका पुगेका थिए ।
राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थीहरुको मागअनुसार संसद भंग गरेर युनुसलाई अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।