काडमाडौं । आज सोमबार मुलुकभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आज देशभरका फिल्म हल बन्द गरेका हुन् ।
सांकेतिक विरोध भन्दै चलचित्र संघको आह्वानमा ढेडसय हलले आज प्रदर्शन स्थगित गरेका छन् । चलचित्र विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा सरकारले ३६ प्रतिशत कर उठाउँदै आएको र यो अव्यवहारिक भएको संघको भनाई छ । चलचित्र विकास शुल्क र स्थानीय कर अव्यवहारिक भएको र यसलाई खारेजी गर्नुपर्ने माग प्रदर्शकको छ ।
चलचित्र विकास बोर्डले चलचित्र विकास शुल्क भन्दै प्रदर्शकबाट रकम उठाउने गरेको छ जुन रकम बोर्डको आर्थिक स्रोत पनि हो । यो शुल्कबाट संकलित रकमबाट बोर्डको प्रशासनिक कार्य संचालन हुन्छ ।
भ्याट र कर्पोरेट लागू भैसकेपछि अन्य शीर्षकमा कर लिन नपाइने माग संघको छ । बढी भ्याट लिँदा यसको प्रत्यक्ष मार दर्शकको क्रयशक्तिमा पर्ने विश्लेषण पनि संघको छ ।
हाल देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।