भक्तपुर । गएराति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् । भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको छ भने सैयौ घर डुवानमा परेका छन् ।
बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर–२ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएका हुन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई सुरक्षित स्थानमा सारेको र डुबानमा परेका सामान निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सूर्यबिनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडी मगर गाउँमा महादेव खोला बस्तीमा पसेको छ भने सूर्यबिनायक नगरपालिका–२ बालकोट र मध्यपुर थिमी नगरपालिका–१ मा मनोहरा खोला आसपासको बस्तीमा पसेको छ । खोला किनारका गाईगोठ र टहरामा क्षति पुगेको छ ।
यता सूर्यबिनायक नगरपालिका–८ पुरानो जगोत स्थित कपास उद्योगमा बाढी पसेको छ । भक्तपुरका चाँगुनारायण नगरपालिका–८ स्थित साइन उडन फर्निचर उद्योगमा बाढी पसेको छ । बुधवार बिहान ४ बजेतिर ब्रह्मायणी खोलामा आएको बाढी उद्योगमा पसेर करिब १० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।