काठमाडौं । कोशी प्रदेश सरकारमा कांग्रेस र एमालेले आधा–आधा समय मुख्यमन्त्री बन्ने गरि भागवण्डा मिलाएको छ । दुवै दलका नेताहरूको शनिबार काठमाडौंमा सम्पन्न बैठकले सरकारको नेतृत्व आलोपालो गर्नेसँगै मन्त्रालय भागबन्डाको विषयमा सहमति गरेका हुन् ।
भागबन्डा अनुसार एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा कांग्रेसले चार मन्त्रालय पाउनेछ । यसैगरी केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएको छ । वतर्मान एमाले नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाबीचको बैठकले मुख्यमन्त्रीमा आलोपालोसहित प्रदेशमा चार–चार वटा मन्त्रालय लिने गरी सहमति गरेको बैठकमा सहभागी छ । यी दुई दलका नेताहरूले मुख्यमन्त्री पदमा दुवै दलले आलोपालो गर्ने र त्यसको समयको निर्धारण केन्द्रीय गठबन्धन अनुसार गर्ने सहमति भएको छ ।
कोशीमा अहिले एमालेका कार्की मुख्यमन्त्री छन् भने संघमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । यो सहमति अनुसार अब केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिनेछ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने निश्चित भएको छ । यी तीन वटै मन्त्रालय यसअघि माओवादीसँग थियो । कांग्रेसले यी बाहेक सामाजिक विकास र कृषि मन्त्रालयमध्ये एउटा लिने सहमति भएको छ ।
यससँगै कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन बाँकी छ । अहिले कांग्रेस सांसदहरू मन्त्रीका लागि दौडमा छन् । कांग्रेस सोमबारसम्म सरकारमा सहभागी हुने जनाइएको छ ।