इलाका प्रशासनको भवन बनाउन निःशुल्क जग्गा प्रदान

इलाका प्रशासनको भवन बनाउन निःशुल्क जग्गा प्रदान

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • इलाका प्रशासनको भवन बनाउन निःशुल्क जग्गा प्रदान
    पर्वत । यहाँको हुवासस्थित इलाका प्रशासन कार्यालयको  भवन निर्माण गर्न पैंयुँ गाउँपालिकाका स्थानीयबासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । 
     
    मासिक रु ३० हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको इलाका प्रकाशनलाई भवन निर्माण गर्न जग्गा खोजी भइरहेको थियो । सोही समयमा पैंयुँ गाउँपालिका–४ हुवासस्थित मर्दिखोलाका बासिन्दाले एक रोपनी, तीन पैसा, एक दाम बराबरको जग्गा निःशुल्क जग्गा प्रदान गरेका हुन् । 
     
    स्थानीय गौरी आलेले तीन आना एक दाम तीन पैसा, चन्द्रीमाया आले र अम्बरबहादुर आलेले चार आना, अमृतबहादुर आलेले तीन आना तीन पैसा दुई दाम, सहवीर आलेले एक आना तीन पैसा एक दाम र कमलकुमारी आलेले तीन आना दुई पैसा तीन दामको गरी कूल एक रोपनी तीन पैसा एक दाम जग्गा निशुल्क प्रदान गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । 
     
    द्वन्द्वकालमा विस्थापित यस कार्यालय सङ्घीयता कार्यान्वयनसँगै २०७३ सालमा पुनःस्थापना भएको थियो । भाडाको साँघुरो घरमा सञ्चालन गर्दा सेवाग्राहीलाई सेवा लिन समस्या हुँदै आएको छ । 
     
    पैंयुँ गाउँपालिका–४ का अध्यक्ष टुकलाल न्यौपानेका  अनुसार  रु एक करोड मुल्य बराबरको जग्गा स्थानीयले निःशुल्क दिएका हुन् ।  इलाका प्रशासन कार्यालय हुवासका प्रमुख लीलावल्लभ काफ्लेले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयकै पत्राचारपछि एक वर्षदेखि जग्गा खोजी भइरहेकामा अहिले आएर पूर्णता पाएको बताए । 
     
    उक्त जग्गाको लालपुर्जा जग्गा धनीहरुले स्थानीय पैंयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, वडाअध्यक्ष टुकलाल न्यौपानेसहितको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई गत बिहीबार हस्तान्तरण गरेका थिए । इलाका प्रशासन कार्यालय हुवासबाट यहाँको महाशिला, पैंयुँ र बिहादी गाउँपालिकाका १७ वटा वडाका बासिन्दाले सेवा लिँदै आएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij