काठमाडौं । पश्चिमी वायुको प्रभाव बढेपछि आज मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ ।
बिभागका अनुसार, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बिभागले जनाएको छ ।