अमलेखगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट तीन महिनाभित्र पेट्रोल र मट्टितेल पनि आउँने भएको छ । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय हातामा निर्माणाधिन पेट्रोल भण्डारण गृहको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएको र अन्य प्राविधिक कामसमेत तिब्र रुपमा भइरहेको जानकारी दिए ।
इण्डियन आयल कर्पोरेसनले निर्माण गरिराखेको दोश्रो चरणको निर्माण कार्य गत डिसेम्बरमा सकिएर पाइपलाइनबाट पेट्रोल र मट्टितेल आइसक्नुपर्ने थियो । तर, निर्माण कार्यमा भएको ढिलाईसंगै आठ महिना म्याद थप गरिएको थियो । पछिल्लो पटक म्याद थप गरिएपछि भने भारतीय पक्षले निर्माण कार्यलाई तिब्रता दिएको निगमका अधिकारीहरु बताउँछन् ।

अधिकारीहरुका अनुसार, नेपाल आयल निगमले निर्माणमा ढिलाई भएको गुुनासो गरेपछि इण्डियन आयलका पाइपलाईन हेर्ने महाप्रबन्धक र अर्का नायव महाप्रबन्धक सहितको टोली निर्माण स्थलमै खटिएर काम अघि बढाई रहेको छ । पछिल्लो समय भारतीय पक्षले द्रुत गतीमा काम अघि बढाएको बताउँदै उपाध्यायले अवको करिव तीन महिनाभित्रै सबै काम सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइन सकिनेमा आफु आशावादी रहेको बताए ।
पेट्रोल भण्डारण ट्याङ्क नभएकै कारण मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट करिव चार वर्षदेखि डिजल मात्र आयात हुंदै आएको छ । दोस्रो चरणको परियोजना अन्तर्गत ठूला पूर्वाधार निर्माणका सबैजसो काम सकिएको बताइएको छ । सो परियोजना अन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्याङ्क निर्माण भएका छन् । प्रमुख उपाध्यायका अनुसार, हाल पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन निर्माण कार्य भइरहेको छ । केही सिभिल, इलोक्ट्रिोनिक्स र आइटीसँग सम्बन्धित काम निर्माणाधिन अवस्थामा छन् ।

त्यसैगरी पेट्रोल र डिजल एउटै पाइपबाट आयात गर्दा मिसिएको भाग राख्नका लागि दुई सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्याङ्क निर्माण भइरहेका छन् । निगमले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणका लागि भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । सो ठेक्का सम्झौताअनुसार कम्पनीले सन् २०२३ को डिसेम्बरमा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो ।
निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ‘ओइल वाटर स्प्रेटर’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भइरहेको छ । निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माण गर्दै आइरहेका छन् । निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक अर्ब ५४ करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्याङ्क, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माण गर्दै आइरहेको छ ।
त्यसैगरी इन्डियन आयल कर्पोरेशन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको ट्याङक, दुई सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्याङक, तीन हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्याङ्क निर्माण गर्दैछ । सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर कुल दुई अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो ।

सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजना बनाइएको थियो । पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काममा ढिलाई भएका कारण लागत बढेर भारु एक अर्ब ५४ करोड पुगेको हो । पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेलको आयात भइरहेको छ ।
पाइप लाइनबाट पेट्रोल ल्याउन सके ढुवानी खर्चमा प्रतिलिटर तीन रुपैयाँ कम भई उपभोक्तालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने छ । पेट्रोलको ढुवानीमा मात्रै हाल निगमले वार्षिक दुई अर्ब रुपैयाँ खर्चदै आएको छ । पाइपबाट पेट्रोल आयात भए भारतको बरौनीबाट ट्याङ्करबाट ल्याउँनु पर्ने बाध्यता हट्ने छ । अमलेखगञ्जबाट मात्र काठमाडौं लगायतका स्थानमा ट्याङ्करबाट ढुवानी हुनेछ ।