विश्व बैंकको ७७ करोड ६८ लाख रूपैयाँ सहयोगमा पोखरामा सडक स्तरोन्नति गरिँदै

विश्व बैंकको ७७ करोड ६८ लाख रूपैयाँ सहयोगमा पोखरामा सडक स्तरोन्नति गरिँदै

आइतवार, आषाढ ९ २०८१
आइतवार, आषाढ ९ २०८१
  • विश्व बैंकको ७७ करोड ६८ लाख रूपैयाँ सहयोगमा पोखरामा सडक स्तरोन्नति गरिँदै

    कास्की । विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ। पोखरा महानरपालिका–१७ दोबिल्लाबाट सुरु भएर बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको हो।

    पोखरामा निर्माण हुने यस सडक विश्व बैंकको लगानीमा बन्न लागेको तेस्रो परियोजना हो। सो सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालि भरतपुरबीच सम्झौता भइसकेको छ। सडक आगामी ३ सय ९० दिनमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

    विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार ८ सय ३७ रूपैयाँ लागत सहयोगमा दुईवटा खण्डमा सडक निर्माण हुने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिए। उनका अनुसार परियोजनाअन्तर्गत करिब १२।४४ किलोमिटर सुविधासम्पन्न सडक निर्माण हुनेछ।

    सडकको पहिलो खण्डमा वडा नं ३३ को कार्यालयबाट उपल्लो पुँडीटारसम्म नौ दशमलव छ सय २७ किलोमिटर र दोस्रो खण्डमा पहिलो खण्डको अन्तिम विन्दुबाट तल्लो गगनगौडा (पृथ्वीराज मार्ग) सम्म २ दशमलव ८ सय १३ किलोमिटर सडक निर्माण हुनेछ। ७ मिटर चौडाइको सडक ‘अस्फाल्ट पिच’ हुनेछ। सडकको दायाँबायाँ ड्रेनसहितको दुई–दुई मिटरको ‘फुट ट्रयाक’ हुनेछ।

    सडक स्तरोन्नति सम्झौतापछि परियोजनाको ‘ज्वाइन्ट सर्भे’को काम सुरु भइसकेको महानगरले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत थापाले भने ‘अबको केही दिनमा फिल्डमा काम सुरु हुनेछ। सडक स्तरोन्नति तोकिएको समयमा सम्पन्न गर्न र निर्माणमा गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेका छौँ।’ 

    पोखरा महानगरमा विश्व बैंकको सहयोगमा यस अघि तालचोक बेगनास सडक र शिशुवा९सिसाघाट सडक निर्माण दुई परियोजना सञ्चालनमा छन्। दोबिल्लाबाट वडा कार्यालयसम्मको बाटो सडक विभागले निर्माण गरिरहेको छ। तीनकुनेबाट दोबिल्ला पुलसम्मको बाटो भने प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij