काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा दुई वटा रेल ठोक्किएर दुर्घटना हुंदा आठ जनाको ज्यान गएको छ । सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा २५ जना घाइते भएका छन् ।
उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीका अनुसार, दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसन नजिकै बिहान नौ बजे मालबहाक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको हो ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उनी स्तब्ध भएको उल्लेख गरेकी छिन् ।
जिल्ला मजिस्ट्रेट, प्रहरी अधिक्षक, चिकित्सक, एम्बुलेन्स र विपद् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटनास्थलमा खटाइएको छ । घटनाको अनुसन्धान भइरहेकोले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ ।