काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी वर्षका लागि ६४ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेशका ११९ स्थानीय तहको लागि बागमती सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ३७ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय वित्त आयोगको सिफारिस तथा विभिन्न अनुदानअन्तर्गत सो रकम विनियोजन गरिएको थपलियाले बताए ।
सरकारले समानीकरण अनुदान तर्फ १ अर्ब ६६ करोड, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड, समपूरक अनुदानतर्फ २ अर्ब ४८ करोड र विशेष अनुदानतर्फ ७ करोड ३८ लाख रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरेको छ ।