गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने

    काठमडौं । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

    अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौंबाट फर्किएलगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

    नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पदमुक्त गरेपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    जेठ १४ गते सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

    केन्द्रीय सत्ता समीकरण बद्लिँदा पाण्डेले २०८०  चैत २१ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले चैत २५ गतेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकारका लागि सभामुख कृष्ण धितालको मतलाई समेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले चैत २५ गते दाबी पेश गरे र त्यसै दिन प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३१ जना सांसदको समर्थन पुर्याएर मुख्यमन्त्री नियुक्ति भएको भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    त्यतिबेला सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत परीक्षण गर्न पाउने फैसला सुनाएको थियो । तर विश्वासको मत लिँदा ६० सदस्यीय प्रदेशसभामा ३० जनाले मात्र मुख्यमन्त्रीलाई समर्थन गर्दा पनि सभामुख कृष्ण धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

    सभामुखको उक्त निर्णयविरुद्ध पनि कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए । जेठ १४ गते सर्वोच्चले सभामुखको निर्णय बदर गर्दै मुख्यमन्त्री अधिकारी पदमुक्त भएको फैसला गरेपछि पाण्डे मुख्यमन्त्रीमा बनेका हुन् ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij