काठमाडौं । जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले आज नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त हुँदा प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज (शुक्रबार) सम्मको समय दिएकी थिइन् ।
नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन् ।