काठमाडौं । सामाजिक सञ्जालसम्बन्धी उजुरी अव अनलाइनबाट गर्न सकिने भएको छ । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै उजुरी दर्ता गर्ने प्रक्रिया सुरु गरेको हो। सरकारले दुुई महिनाअघि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो।
सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानाएको छ। प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहजिकरण गर्न मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरेको जनाएको छ।जसअनुसार, मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइनमा क्लिक गरेर वा सोझै वेबसाइटमा गएर मा गएर गुनासो दर्ता गर्न सकिने छ ।
प्राप्त गुनासोहरूको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । सरकारले गत मङ्सिर ११ गते निर्देशिका जारी गर्दै नेपालमा सामाजिक सञ्जालको रुपमा सञ्जालनमा रहेका सबै प्लेटफर्मलाई तीन महिनाभित्र सूचीकरण गर्न सूचना जारी गरेको थियो।
सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भए पनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ। प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने व्यवस्था मिलाइएको मन्त्रालय स्रोतले जनाएको छ ।