काठमाडौं । बंगलादेशी सांसद अनवारुल अजिम अनारको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । भारतको कोलकातामा मृत भेटिएका बंगलादेशी सांसद् अजिमको हत्या आरोपी सइम हुसेनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
बंगलादेशको अंग्रेजी दैनिक ढाका ट्रिब्युनले हत्यामा संलग्न एक व्यक्ति काठमाडौं पक्राउ परेको भन्दै समाचार लेखेको छ । सत्तारुढ दल अवामी लिगका सांसद् अजिमको हत्यामा संलग्नलाई फिर्ता ल्याउन नेपालस्थित बंगलादेशी दूतावासमार्फत लैजान कूटनीतिक प्रयास पनि भइरहेको समाचारमा भनिएको छ ।
बंगलादेशी सांसद्को हत्यामा संलग्न व्यक्ति नेपाल आएको सूचना पाएपछि खोजी गरेको पुष्टि गरेको छ । भारतीय, बंगलादेशी र नेपाली प्रहरीको समन्वयमा अझै पनि अपरेशन जारी छ ।
बंगलादेशी अधिकारीहरुले त्यहाँको सञ्चारमाध्यममा कूटनीतिक प्रयास भइरहेको भएपनि नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि भएको छैन ।
नेपाल–भारतका प्रहरीबीच अनौपचारिक रुपमा लामो समयदेखि अपराध नियन्त्रणमा सहकार्य हुँदै आएको छ । बंगलादेशी सांसद् कोलकातामा मारिएकाले यो अपरेशनमा भारत–बंगलादेश र नेपालका सुरक्षा अधिकृतहरु जोडिएका छन् ।
उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए । भारतीय प्रहरीलाई उद्धृत गर्दै मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो । लगत्तै भारतीय प्रहरीले चार बंगलादेशीलाई पनि पक्राउ गरेको थियो । उनको विभत्स हत्या गरिएको देखिएको थियो ।