काठमाडौं । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा कटौती गर्ने भएको छ। विदेशी विद्यार्थीको बढ्दो जनसंख्याका कारण आवास र स्वास्थ्य क्षेत्रमा चरम दबाब परेपछि दुई वर्षसम्म भर्ना संख्या घटाउन लागिएको हो।
क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो । सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन पछि तय गरिनेछ ।
कटौतीको यो प्रतिशत अन्टारियो लगायतका केही प्रान्तहरूमा ५० प्रतिशतभन्दा बढी हुनेछ । सन् २०२२ अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये आधाभन्दा बढी अन्टारियोमा थिए । क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको छ । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरका अनुसार यो संख्या एक दशक अघिको तुलनामा तीन गुणा बढी हो ।
कुन प्रान्त र क्षेत्रमा कतिजना विदेशी विद्यार्थी भर्ना गर्ने भन्नेबारे पहिला नै कोटा तय गरिनेछ। जनसंख्याको आधारमा यसरी संख्या तोकिनेछ। एउटा प्रान्तमा ह्वात्तै बढेको विदेशी विद्यार्थीको संख्या यो नियमले कम हुने अपेक्षा क्यानडा सरकारको छ।
सरकारले तोकेको नयाँ संख्या सीमाको प्रभाव पोस्ट सेकेन्डरी (स्नातक) विद्यार्थीहरूलाई मात्र लागु हुनेछ । स्नातकोत्तर र विद्यावारिधी गर्न चाहने विद्यार्थीका लागि यो सीमा लागु हुँदैन ।