काठमाडौं । राहदानीको आवेदन अव घरैमा बसिबसी अनलाइनबाटै, गर्न सकिने व्यवस्था मिलाइने भएको छ । राहदानी बनेपछि पनि लिन बिभाग वा कार्यालयसम्म जानुपर्ने झन्झट अव हट्ने भएको छ । परराष्ट्र मन्त्रालयले राहदानी बिभागलाई सेवाग्राहीको नाममा तयार भएका राहदानी हुलाकमार्फत घरमै पठाई दिने व्यवस्था गर्न निर्देशन दिएको हो ।
परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी थाल्न बिभागलाई आग्रह गरेको बताइएको छ । तयारीले पूर्णता पाए सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट नहुने मन्त्रालयले जनाएको छ ।
विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरुवात गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का रक्षा र नारायणकाजी श्रेष्ठ गृह तथा भौतिक योजनामन्त्री प्रकाश ज्वालासँगै परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलअनुसार विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर राहदानी वितरण कार्य गर्न सके सेवाग्राहीले अनलाइनबाट राहदानीको आवेदन दिन र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने छन् ।
यस्तै, विदेशमा रहेका नेपालीले समेत राहदानी नवीकरणका लागि आफू रहेको मुलुकमा अवस्थित नेपाली राजदूतावास जानुपर्ने बाध्यतासमेत हट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकपछि सम्बन्धित विभागहरूलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी थाल्न निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा राष्ट्रिय परिचयपत्र बनाउँदा सेवाग्राहीले बायोमेट्रिक्स दिँदै आएका छन् । परराष्ट्र मन्त्रालयले राहदानीका लागि सो परिचय पत्र अनिवार्य गरेको छ । अहिले सेवाग्राहीले पञ्जीकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता छ ।