काठमाडौं । भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । पिक्निक गएका शिक्षक र विद्यार्थी सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो । मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक रहेको भारतीय सुुरक्षा अधिकारीले बताएका छन् ।
शिक्षक र विद्यार्थी गरी २८ जना पिक्निकमा गएकामा एक जना विद्यार्थीको उद्धार गरिएको छ । उनको उपचार भइरहेको बताइएको छ । अन्य ११ जनाको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । गुजरात सरकारले घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समितिले १० दिनभित्र रिपोर्ट पेस गर्नुपर्ने छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनामा दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले दिने घोषणा गरेका छन् । घाइते भएकाहरूलाई ५० हजार रुपैयाँ सहयोग गर्ने मोदीले घोषणा गरेका छन् ।