काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल १७ औं वर्षमा लागेको छ । २०६६ सालमा क्योङही नेपाल हेल्थ सेन्टरको नामले स्थापना भएको सो अस्पतालले शनिबार १६ औं वर्ष पुरा गरेको हो ।
१६ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले शनिबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनका क्रममा अस्पतालका कार्यकारी निर्देशक डा. डि के रौशनले अस्प्तालमा गत साउन १ गतेदेखी चैत्र मसान्तसम्म ९ महिनाको अवधीमा ओपिडीमा मात्र एक लाख ४१ हजार २३२ जनाले सेवा लिएको जानकारी दिए । जुन गत वर्षको सोही अवधीको तुलनामा ३६ हजार ९५२ जना बढी हो । गत वर्ष साउन २०७९ देखी चैत्र मसान्तसम्म एक लाख ४ हजार २८० थियो ।
यसैगरी आईपिडी सेवा २ हजार ६०८, इमरजेन्सी (ईआर) सेवा ६ हजार १७८, ल्याव सेवा ५९ हजार ६५५, एक्सरे सेवा ४३ हजार १४६, ईसीजी ६ हजार ८२७ जनाले सेवा लिएका छन् । यस्तै युएसजी सेवा १४ हजार ८१४, इन्डोस्कोपी ६२०, कोलोनोस्कोपी ९७, ब्रोनकोस्कोपी ६९, हेमोडायलासीस ३२३, इको १ हजार ५७५, टिएमटी १३५, ईईजी ७१ र एनपिएल सेवा ३७७ जनाले लिएका छन् ।
अस्पतालले ९ महिनाको अवधीमा १ हजार ६५५ साना ठूला शल्यक्रिया गरेको डा. रौशनले जानकारी दिए । गत वर्ष सोही अवधीमा ७२३ वटा मात्र शल्यक्रिया भएको थियो । यसैगरी हालैशुरु भएको सिटी स्क्यान सेवा छोटो अवधीमा नै ९०१ जनाले लिएको उनले बताए ।

अस्पतालले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ३१ करोड ९७ लाख ६३ हजार ८८५ रुपैंया आम्दानी गरेको डा. रौशनले जानकारी दिए । उनका अनुसार अस्पतालले २३ करोड ३७ लाख १६ हजार ४८२ रुपैंया खर्च गरेको छ ।
नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्डसँग १३ करोड ६८ लाख ७६ हजार ५९ रुपैंया भुक्तानी पाउन बाँकी रहेको जानकारी दिँदैं डा. रौशनले विभिन्न सप्लायर्सलाई तथा अन्यलाई १० करोड ७ लाख ४९ हजार ५३१ रुपैंया भुक्तानी दिन बाँकी रहेको बताए ।
डा. रौशनले अस्पतालले सेवाग्राहीलाई १० मिनेटमा सेवा दिने लक्ष्यका साथ अघि बढेको बताउँदैं यसका लागि कर्मचारीहरुको सेवा सुरक्षाको प्रत्याभुती दिलाउन अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐनले दिएको अधिकार प्रयोग गरी आवश्यक कानून निर्माण गरी कार्यान्वयन गर्ने, कर्मचारीहरुको व्यवसायिक क्षमता अभिबृद्धिका लागि आवश्यक तालिम, प्रशिक्षण प्रदान गर्ने, अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने योजना रहेको बताए । यसअघि आयोजित अस्पतालको १६ औं स्थापना दिवस कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अस्पताललाई २०० शैयामा बिस्तार गर्न यही वर्ष थप एक सय शैया क्षमताको नयाँ भवन निर्माण शुरु हुने बताए ।
उनले अस्पतालमा एमआरआई सञ्चालनको प्रदेश र संघीय सरकारसँग समन्वय गरी बजेट व्यवस्थापन गर्ने, अत्याधुनिक सुविधासहितको ओपरेसन थिएटर (ओटी) निर्माण गर्ने, यूरो र न्यूरो सम्बन्धी सेवा बिस्तार गरी यही शल्यक्रियाको व्यवस्था गर्ने योजना अघि बढेको जानकारी दिए । उनले अस्पतालको सेवा प्रवाहको सम्बन्धमा कर्मचारी र स्वास्थ्यकर्मीहरुको बारेमा गुनासोहरु आउने गरेको बताउँदैं ती गुनासोहरुलाई सुझावको रुपमा लिएर सच्याउँदैं अघि बढ्न निर्देशन समेत दिए । उनले नसच्चिने कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी समेत दिए ।
उनले स्वास्थ्य बिमालाई प्राथमिकता दिएर अघि बढेको बताउँदैं आफ्नो ५ वर्षे कार्यकालमा मध्यपुर थिमिका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा मार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको बताए ।

नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्पताललाई देशकै नमूना र सर्वोत्कृष्ट अस्पताल बनाउने लक्ष्यका साथ अघि बढेको जानकारी दिँदैं निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार नर्सिङ कलेज सञ्चालन, पारा मेडिकल सेवा बिस्तारको लागि कार्य भइरहेको जानकारी दिए ।अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य हरीदास प्रजापतिले स्वास्थ्यकर्मी र कर्मचारीहरुले उच्च मनोबलका साथ कार्य गर्न आग्रह गर्दै कर्मचारी र स्वास्थ्यकर्मीका समस्या र गुनासोलाई पनि सम्बोधन गर्दै अघि बढ्ने बताए ।
यसैगरी अस्पतालको १६ औं वार्षिकोत्सवको अवसरमा नगरप्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, अस्पतालका कार्यकारी निर्देशक डा. रौशनलगायतले अस्पतालमा उपचार गराईरहेको बिरामहिरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल तथा जुस वितरण गरिएको थियो ।

यसैबीच नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अत्याधुनिक इमरजेन्सी अव्जरभेसन वार्डको शुभारम्भ भएको छ । अस्पतालको १६ औं वार्षिकोत्सवको अवसरमा शनिवारदेखी सो वार्ड सञ्चालनमा आएको हो ।