दसैँ–तिहारमा काठमाडौंमा ३५ सयभन्दा बढी प्रहरी खटाइँदै, १० मिनेट भित्रै घटनास्थल पुग्ने लक्ष्य

दसैँ–तिहारमा काठमाडौंमा ३५ सयभन्दा बढी प्रहरी खटाइँदै, १० मिनेट भित्रै घटनास्थल पुग्ने लक्ष्य

शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • दसैँ–तिहारमा काठमाडौंमा ३५ सयभन्दा बढी प्रहरी खटाइँदै, १० मिनेट भित्रै घटनास्थल पुग्ने लक्ष्य

    काठमाडौं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा हुने सम्भावित चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि ३ हजार ५०६ प्रहरी परिचालन गरिने भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भीडभाड हुने बजार, धार्मिक स्थल, यातायात केन्द्र, बैंक तथा एटीएम र सुनचाँदी पसलमा सुरक्षा निगरानी बढाइनेछ। घटना भएको ५ देखि १० मिनेटभित्र घटनास्थल पुग्ने गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ ।

    प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आवश्यकताअनुसार थप १९० प्रहरीसमेत परिचालन गर्न सकिनेछ । बर्दीधारीसँगै सादा पोशाकका प्रहरीलाई समेत विभिन्न २२ प्रकारका ड्युटीमा खटाइनेछ ।

    न्यूरोड, असन, कोटेश्वर, कलंकी, गोंगबु, गौशाला, पशुपतिनाथ, गुह्येश्वरी, दक्षिणकालीलगायतका क्षेत्रमा विशेष निगरानी गरिनेछ । कलंकी, कोटेश्वर, गौशाला, गोंगबु बसपार्क, बल्खु, नागढुंगा, बालाजु, सितापाइला र जोरपाटीलगायत स्थानमा सहायता कक्ष स्थापना गरिने प्रहरीले जनाएको छ ।

    सुरक्षाका लागि मोबाइल तथा पैदल गस्ती, क्यूआरटी, चेकपोइन्ट, संयुक्त चेकिङ र रात्री गस्ती सञ्चालन गरिनेछ । काठमाडौंमा रहेका १ हजार २४२ सीसीटीभी, तीन ड्रोन, के–९ टोली तथा सामाजिक सञ्जाल मनिटरिङ डेस्कमार्फत समेत निगरानी गरिनेछ ।

    जुवा, लंगुरबुर्जा, नक्कली टिकट तथा ठगी, मदिरा सेवनपछि हुने झैझगडा, सवारी दुर्घटना, घरमा चोरी तथा पटका–आतसबाजीबाट हुनसक्ने आगलागीलाई प्रहरीले चाडपर्वका प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको छ ।

    विशेष सुरक्षा योजना असोज १६ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । प्रहरीले शंकास्पद गतिविधि देखिएमा तत्काल १०० नम्बरमा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij