पहिरो र नदी कटानले ३ दिनदेखि मुस्ताङ सम्पर्कविहीन

पहिरो र नदी कटानले ३ दिनदेखि मुस्ताङ सम्पर्कविहीन

बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • पहिरो र नदी कटानले ३ दिनदेखि मुस्ताङ सम्पर्कविहीन

    काठमाडौं । अविरल वर्षापछि आएको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला तीन दिनदेखि सडक तथा विद्युत् सम्पर्कबाट प्रभावित बनेको छ । जिल्लालाई जोड्ने प्रमुख बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुगेपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    म्याग्दीको दाना क्षेत्रमा रहेको सबस्टेशन तथा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द रहेको छ । सडकखण्डका करिब ४६ स्थानमा पहिरो र नदी कटानले क्षति पुर्‍याएको बताइएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले मुस्ताङको विपद्को अवस्थाबारे सरकार र सदनको ध्यानाकर्षण गराउँदै सडक अवरुद्ध हुँदा आवतजावतसँगै अत्यावश्यक सामग्रीको आपूर्ति प्रणालीसमेत प्रभावित भएको जानकारी दिए ।

    उनका अनुसार लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा सिँचाइ प्रणाली तथा कृषि पूर्वाधारमा क्षति पुगेको छ । घरोभज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरू पनि जोखिममा रहेका छन् । लुक्रा गाउँमा केही स्थानीयका घर पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएको उनले बताए ।

    बाढी, पहिरो र नदी कटानबाट सडक, विद्युत् तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि मुस्ताङको आर्थिक गतिविधि र सञ्चार प्रणालीमा समेत असर परेको छ । सडक अवरुद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जाल प्रभावित भएको सांसद थकालीको भनाइ छ ।

    उनले मुस्ताङमा उत्पन्न विपद्लाई तत्काल सम्बोधन गर्दै पुनःस्थापना तथा पुनर्निर्माणका काम अघि बढाउन सरकारसँग आग्रह गरे । साथै, यस घटनालाई राष्ट्रिय सुरक्षा र जलवायु सुरक्षाको दृष्टिकोणबाट समेत गम्भीरतापूर्वक लिनुपर्ने उनको जोड थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij