काठमाडौँ, १३ असोज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त रु १६ लाख ७२ हजार रकम तोकिएको कार्यक्रम सञ्चालन नगरी हिनामिना गरेको आरोपमा मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
आरोपपत्रमा तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, लेखापाल नवीनकुमार बराल तथा विभिन्न वडाका तत्कालीन अध्यक्ष र सदस्यलाई प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सशर्त अनुदान रकम तोकिएको काममा खर्च नगरी हिनामिना तथा सरकारी रकममा हानिनोक्सानी पुर्याइएको थियो।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा फरक-फरक बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना र हानिनोक्सानी भएको रकम असुलउपर गर्न मागदाबी गरेको जनाएको छ।