बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी ७९ वर्षीया सासु नरमाया रोका रहेका छन् । रोकाको स्थायी घर म्याग्दीको मालिका गाउँपालिका–२ रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।
अविरल वर्षापछि जिल्लाका विभिन्न ठाउँमा भएको विपद्मा शनिबार ताराखोलामा एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए भने निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले उद्धार तथा खोजी कार्य जारी छ ।