काठमाडौँ, १३ असोज — वर्षा नेपालको सेमिफाइनल यात्रामा बाधक बनेको छ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
नागोयास्थित कोरोगी स्पोर्टस पार्कमा मंगलबार तय भएको खेल लगातारको वर्षाका कारण सुरु नै हुन सकेन। टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घले जनाएको छ।
प्रतियोगिताको नियमअनुसार खेल सञ्चालन हुन नसके ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै सेमिफाइनलमा प्रवेश गराउने व्यवस्था छ। यही प्रावधानका आधारमा श्रीलङ्का सेमिफाइनल पुगेको हो। ट्वान्टी-२० वरियतामा श्रीलङ्का नवौँ र नेपाल १४औँ स्थानमा छन्।
नागोयामा शनिबारदेखि लगातार वर्षा भइरहेको छ। यही कारण नेपालले समूह चरणमा जापानविरुद्धको खेलमा पनि पूरा खेल खेल्न पाएको थिएन। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो। जापानसँगको अन्तिम खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँड्दै नेपाल समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको थियो।
तर, श्रीलङ्काविरुद्ध मैदानमै उत्रिएर सेमिफाइनल पुग्ने नेपालको अवसर भने वर्षाकै कारण समाप्त भएको छ। यससँगै एसियाली खेलकुदमा क्रिकेटतर्फ नेपालको सेमिफाइनल यात्रा फेरि अधुरै बनेको छ।