पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु, एक बेपत्ता

पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु, एक बेपत्ता

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • पहिरोमा परी  बागलुङमा  १० जनाको मृत्यु, एक बेपत्ता

    बागलुङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। पछिल्लो दुई दिनमा जिल्लामा पहिरोले ठूलो मानवीय क्षति गरेको हो।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार मात्रै तमानखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ। शनिबार ताराखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो।

    तमानखोला–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। त्यहाँ पहिरोले आठ घर बगाएको छ। तमानखोला–४ सन्तरमा घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ भने हस्तवीरकी श्रीमती बेपत्ता छन्।

    निसीखोला–३ जुग्जाखोलामा पहिरोले घर पुरिँदा एकै परिवारका श्यामकुमारी विक र उनका तीन छोराको मृत्यु भएको छ। निसीखोला–६ रङ्गिलमा गोठ पुरिँदा सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। शनिबार ताराखोला–५ मा पहिरोले घर पुरिँदा मनबहादुर रोकाको मृत्यु भएको थियो।

    पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए। प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ।

    तनहुँमा २४ घरमा क्षति

    यस्तै, वर्षाका कारण तनहुँका विभिन्न स्थानीय तहमा बाढी र पहिरोले २४ घरमा क्षति पुर्‍याएको छ। व्यासमा पाँच, म्याग्देमा दुई, घिरिङमा छ, ऋषिङमा दुई, बन्दीपुरमा चार र भानुमा पाँच घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

    क्षतिग्रस्त घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। व्यासको राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको छ भने भिमादमा कुखुराफार्म र बङ्गुरको खोरसमेत बगाएको छ।

    बाढीले सीता गुफा परिसरमा क्षति

    देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीको बाढीले विभिन्न संरचना र सामान बगाएको छ। शौचालय, बाथरुम, स्टोरका सामान तथा १०८ शिवलिङ्गसहितको ओमकार मूर्तिमा क्षति पुगेको प्रहरीले जनाएको छ।

    प्रहरीले गुफाका ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij