भक्तपुर । बागमती प्रदेश सरकारले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विपन्न तथा बाढी प्रभावितको आवास निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
आइतबार विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नागरिक समाजले नेपाल प्रेस सोसाइटीमा आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ विषयक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री थापामगरले प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षमा तत्काल सञ्चालन नगर्दा पनि हुने कार्यक्रम पहिचान गरी विभिन्न मन्त्रालयको बजेट कटौती गर्ने प्रक्रिया अघि बढाइएको छ। प्रत्येक मन्त्रालयको करिब १० प्रतिशतसम्म बजेट कटौती गर्न सके करिब पाँच अर्ब रुपैयाँ बचत हुने र उक्त रकम बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा खर्च गरिने उनले बताए।
‘बजेटबाट अन्य खर्च नहुने कार्यक्रम र केही विकासका बजेट कटौती गरेर प्रभावित क्षेत्रमा तत्काल पुनर्निर्माण र पुनर्स्थापना गर्ने निर्णय गरिसकेका छौँ,’ मुख्यमन्त्री थापामगरले भने।
प्रदेश सरकारले पहिलो चरणमा बाढी प्रभावितका लागि एक हजार घर निर्माण गर्ने लक्ष्य राखेको उनले बताए।