काठमाडौँ, ११ असोजः लगातारको वर्षापछि आएको पहिरोमा परी बागलुङ र पाल्पामा ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो। घटनास्थलबाट चारै जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
यता, पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुवै जनाको शव निकालेर जिल्ला अस्पताल पाल्पामा राखिएको छ।
पाल्पाकै माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। घर्तीमगरका परिवारका दुई जना र छिमेकीकी एक छोरी बेपत्ता रहेको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्ने क्रम बढेपछि बागलुङ र पाल्पाका ग्रामीण क्षेत्रमा जोखिम थपिएको छ।